मुस्ताङ, ७ असोज– स्थानीयले कागबेनी–मुक्तिनाथ सडकखण्ड अवरुद्ध पारेपछि पवित्र तीर्थस्थल मुक्तिनाथ र कागबेनी आएका हजारौं तीर्थालु अलपत्र परेका छन् ।
यातायातमा सिण्डिकेट लागू गरिएको विरोधमा मुक्तिनाथ, झोङ, कागबेनी र छुसाङका स्थानीयले सडक अवरुद्ध गरेपछि सोह्रश्राद्ध गर्न आएका तीर्थयात्रु बीच बाटोमै अलपत्र परेका हुन् ।
मुस्ताङ जिप तथा बस व्यवसायी समितिले सिण्डिकेट लागू गरेको भन्दै यातायात सञ्चालनमा रोक लगाएका हुन् । जोमसोमबाटै टिकट नलिए बीचबाट गाडी नचढाउने, गाडी नभरिएसम्म नहिडाँउने, अन्य सार्वजनिक सवारी साधन राख्न नदिई एकलौटी गर्ने जस्ता आरोप ब्व्यवसायीमाथि लगाएका छन् ।
स्थानीयको मागमा जिल्लास्थित राजनीतिक दलले समेत समर्थन जनाएका छन् । स्थानीय र व्यवसायीको स्वार्थका कारण आफूहरु मारमा परेको बाग्लुङ नगरपालिका–१०, कुडुलेबाट आएका डिल्लीप्रसाद आचार्यले बताए ।
‘मुस्ताङमा राज्यको उपस्थिति नरहेको आभास भइरहेको छ’, उनले भने, ‘यहाँका यातायात व्यवसायी र बासिन्दा आफ्नो स्वार्थमा जस्तोसुकै हर्कत गर्न पछि पर्दारहेनछन ।’