काठमाण्डू, १६ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) मा इंग्लिस खेलाडी एडम रोसिङटनले सानदार ब्याटिङ गर्दै शतक प्रहार गरेपछि पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।
काठमाण्डूको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०१ रन बनाउन सफल भएको हो । एनपीएल दोस्रो सिजन २०० रन बनेको यो दोस्रो पटक हो । यसअघि विराटनगर किंगुसले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो ।
ओपनर रोसिङटनले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ५८ बलमा अविजित १०८ रन बनाए । यस क्रममा उनले ११ चौका र ७ छक्का प्रहार गरे । रोसिङटनले १९ औं ओभरको अन्तिम बलमा नन्दन यादवलाई चौका प्रहार गर्दै शतक पूरा गरेका थिए ।
त्यसक्रममा उनले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए । दिनेश खरेललाई ड्रप गरेपछि कप्तान कुशल भुर्तेल आफैं रोसिङटनसँग ओपनिङ गर्न आएका थिए ।
पहिलो विकेटका लागि रोसिङटन र भुर्तेलले ३४ रनको साझेदारी गरे । भुर्तेलले १७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाउन सफल भए ।
त्यसपछि रोसिङटनले अर्का इंग्लिस ब्याटिङ ज्यासन रोएसँग शतकीय साझेदारी गरे । यो जोडीले दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरे ।
एनपीएलको दोस्रो संस्करणमा यो दोस्रो ठूलो साझेदारी हो भने समग्रमा पाँचौ शतकीय साझेदारी हो । यसअघि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखरा एभेन्जर्सविरुद्ध नै दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए ।