ललितपुर, ७ असोज– पाटन अस्पतालबाट फरार चिनियाँ कैदी भगाउने कार्यमा प्रहरी नै संलग्न रहेको रहस्य खुलेको छ ।
नख्खु जेलबाट उपचारका लागि अस्पताल पुर्याइएका चिनियाँ कैदी जस याङ खा सोमबार भागेका थिए । भगाउन सघाएको आरोपमा कैदीलाई अस्पताल लिएर गएका तीन प्रहरी हिरासतमा राखिएका छन् । उनीहरुबारे छानबिन भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरी हवल्दार बोध कुँबर, प्रहरी जवानद्धय शिव गिरी र रमेश चाँइलाई हिरासतमा राखेर अनुसन्धान थालिएको हो । यसैबीच कैदी फरार भएको विषयमा छानबिन गर्न महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीले चार सदस्यीय समिति गठन गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक हेमन्त पालको संयोजकत्वमा गठित समितिमा महानगरीय प्रहरी अपराध महाशाखाका नायब उपरीक्षक ओम अधिकारी, ललितपुर प्रहरी परिसरका उपरीक्षक पवनकुमार गिरी र केन्द्रीय कारागारका प्रहरी निरीक्षक नगेन्द्रबहादुर देउजा सदस्य छन् ।