काठमाण्डु, ७ असोज– राष्ट्रिय मानवअधिकार आयोगले छोराका हत्यारामाथि कारबाहीको माग गर्दै अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले मंगबालर एक विज्ञप्ति जारी गर्दै गंगामायाको जीवन रक्षाका लागि तत्काल ठोस कदम चाल्न सरकारलाई भनेको छ । गंगामायाका पति नन्दप्रसादको अनसन बसिरहेकै बेला वीर अस्पतालमा सोमबार साँझ निधन भएको थियो ।
श्रीमानसँगै अनसनरत गंगामायाले सोमबार वान्ता गरेको र केही समय बेहोस भएको अस्पतालले जनाएको छ । नन्दप्रसाद पनि मृत्यु हुनुभन्दा एक दिनअघि आइतबार तीन घण्टा बेहोस भएका थिए भने बान्ता पनि गरेका थिए ।
आयोगले अनसन बसेका अधिकारीको निधनले अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकारप्रति नेपाल सरकारको कमजोर सक्रियता चित्रित गरेको जनाएको छ । विज्ञप्तिमा अधिकारीको निधनप्रति दु:ख व्यक्त गर्दै द्वन्द्वकालिन घटनाको निरुपण नगरे अझै भयावह अवस्था सिर्जना हुनेतर्फ सरकारलाई सचेत गराएको छ ।
अधिकारी दम्पत्तिको जीवन रक्षाका लागि पटकपटक ध्यानाकर्षण गराउँदासमेत सरकारले सुनुवाई नगरेको विज्ञप्तिमा छ ।