एनपिएलमा विराटनगरद्वारा काठमाण्डू ५ विकेटले पराजित

काठमाण्डु टुडे २०८२ मंसिर ६ गते १९:०२ मा प्रकाशित

काठमाण्डू, ६ मंसिर– विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा दिएको १३५ रनको लक्ष्य उसले १७ ओभर एक बलमै पाँच विकेट गुमाउँदै पूरा गर्दै काठमाण्डू गोल्डेन्सलाई पराजित गर्यो् । यसअघि विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो ।

लक्ष्य पछ्याउने क्रममा विराटनगरका ओपनर लोकेश बम २ छक्का सहित १४ रनमै आउट भए । दोस्रो विकेटका लागि जर्ज मन्से र मार्टिन गप्टिलले ५३ रनको साझेदारी गर्दै पारी सम्हाले । मन्सेले १६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३६ रन जोडे ।

गप्टिलले १९ बलमा २५ रन बनाए । बासिर अहमदले १९ रन थपे भने नरेन भट्टले धैर्यका साथ ३० बलमा २४ रन बनाएका थिए । अन्त्यतिर कप्तान सन्दीप लामिछाने ९ रनमा नटआउट रहे भने शुभम रन्जने ६ रनमा अविजित रहे । काठमाण्डूतर्फ शाहब आलमले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए । करण केसी, सन्तोष यादव र इरासमसले एक–एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डूले ६ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । सुरुआत निकै कमजोर रह्यो। पहिलो ओभरमै आकाश त्रिपाठी शून्यमा आउट भए । त्यसपछि रिकार्डो भास्कोन्सेलोस ३ रनमा रनआउट भए भने प्रतिक श्रेष्ठ २ रनमै फर्किए । पाँच ओभरसम्म काठमाण्डूको स्कोर १३ रनमै रोकिएको थियो ।

दबाबका बेला आदिल अन्सारीले उत्कृष्ट संयमित पारी खेले । तीन पटक जीवनदान पाएका उनले २५ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै नटआउट ४८ रन बनाए । ओपनर बेन चार्ल्सवेथले ३३ बलमा ३२ रन जोडे भने सन्तोष यादवले २४ बलमा २६ रन थपे ।

विराटनगरका डि लाङले २ विकेट लिए भने शुभम रन्जने, सूर्य तामाङ र कप्तान सन्दीप लामिछानेले एक–एक विकेट हात पारे ।

एनपीएलमा आइतबार कुनै खेल नहुनेछ। सोमबार बिहान पौने १२ बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । त्यसैदिन अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us