वाट चम्किएपछि लुम्बिनीमाथि कर्णालीको सानदार जित

काठमाण्डु टुडे २०८२ मंसिर ६ गते १४:२३ मा प्रकाशित

काठमाण्डू, ६ मंसिर– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले मार्क वाटको धुवाँधार शतकको बलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराउँदै प्रभावशाली जित दर्ता गरेको छ ।

१५७ रनको लक्ष्य पछ्याउँदै कर्णालीले मात्र १२.२ ओभरमै एक विकेट गुमाएर खेल समाप्त गर्‍यो । ओपनर प्रियांक पाञ्चल भने १२ रनमा आउट भएका थिए।

कर्णालीका नायक बने— मार्क वाट । उत्कृष्ट लयमा रहेका उनले ४४ बलमा ६ चौका र १२ छक्कासहित अविजित ११४ रन प्रहार गरे । उनीसँगै विल बोसिस्टो पनि २० बलमा २९ रन बनाउँदै नटआउट फर्किए। बोसिस्टोले दुई चौका र एक छक्का प्रहार गरेका थिए ।

वाटको इन्ङ्सको सबैभन्दा आकर्षक क्षण १०औँ ओभरमा देखियो, जब उनले लुम्बिनीका कप्तान रोहित पौडेलको ओभरबाट मात्रै २६ रन बटुले—त्यसमध्ये चार छक्का र एक दोहोरो रन समावेश थियो । यो शतक यस सिजनको पहिलो शतक पनि हो । गत वर्ष पोखराका आन्द्रेस गौसले यही लुम्बिनीविरुद्ध १०४ रन प्रहार गरेका थिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले २० ओभरमा ८ विकेट गुमाउँदै १५६ रनको योगफल बनाएको थियो । कप्तान रोहितकुमार पौडेल अर्धशतक नजिक पुगेर चुक्नुपर्‍यो—उनी ४९ रनमा नाजिबुल्लाह जाद्रानबाट क्याच आउट भए । ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरेका रोहित १७औँ ओभरमा सोमपाल कामीको बलमा आउट भएका थिए ।

लुम्बिनीले राम्रो सुरुआत गर्न सकेन। ओपनर सन्दीप जोरालाई नन्दन यादवले दोस्रो ओभरमै १ रनमा पभेलियन फर्काए। दोस्रो विकेटका लागि रोहित र डार्शी सर्टले ३६ रनको साझेदारी गरे। सर्टले १४ बलमा ४ चौकासहित १९ रन जोडे ।

मध्य ओभरमा सुस्त बनेको लुम्बिनीले पावरप्लेमा ३६/१ मात्र बनाउन सकेको थियो । १० ओभरसमाप्तिमा स्कोर ५९/३ थियो । तर पछिल्ला पाँच ओभरमा आक्रमक ब्याटिङ गर्दै ६८ रन थप्न सफल भयो । जेजी स्मिथले २३ रन, गुल्बदीन नइब ७, दिलीप नाथ ६ र सुमित महर्जनले ४ रन बनाए। अन्तिमतिर रुबेल ट्रम्पलम्यानले १४ बलमा ३ छक्का र १ चौकासहित २९* रन जोड्दै लुम्बिनीलाई प्रतिस्पर्धी स्कोरसम्म पुगे ।

कर्णालीका लागि नन्दन यादवले २ विकेट लिए, भने सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट साझा गरे ।

लिगको यसअघि भएको पहिलो भिडन्तमा लुम्बिनी विजयी बनेको थियो भने कर्णालीले हार व्यहोरेको थियो । आजको अर्को खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज आमनेसामने हुँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us