रबि बोपाराको अर्धशतकमा चितवनको विजयी सुरुवात

काठमाण्डु टुडे २०८२ मंसिर २ गते १५:४१ मा प्रकाशित

काठमाण्डू, २ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ ।

रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गर्न सफल भएको हो ।

कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवन विजयी हुन सफल भएको हो । चितवनका लागि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

ओपनर दीपक बोहराले ४२ रन जोडे । सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रन बनाउन सफल भए । बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले २ तथा मार्क वाट, युनिश सिंह र युवराज खत्रीले समान एकरएक विकेट लिन सफल भएका थिए ।

चितवनले एनपीएलमा पहिलो पटक कर्णालीलाई पराजित गरेको हो । यसअघि पहिलो संस्करणमा दुवै खेलमा कर्णालीले चितवनलाई पराजित गरेको थियो ।

लिग चरणमा कर्णाली ५ विकेटले विजयी भएको थियो भने एलिमिनेटरमा २१ रनले विजयी भएको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले तीन विकेट गुमाएर १६६ रन बनाएको थियो ।

ओपनिङ गरेका भारतीय खेलाडी पान्चलले ४८ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे । पान्चलले पहिलो विकेटका लागि म्याक्स ओ डाउडसँग ६१ रन र दोस्रो विकेटका लागि मार्क वाटसँग ६३ रनको साझेदारी गरे ।

म्याक्स ओ’डाउले २० र मार्क वाटले १६ रन योगदान गरे । पवन सर्राफले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित २७ रन बनाउन सफल भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us