मिराजको काउण्टरमा जेनजी अगुवा चाम्लिङको चेतावनीः संघीयता तलमाथि भए कोशीबाट १० लाख जनता ल्याएर काठमाण्डू घेरिन्छ

काठमाण्डु टुडे २०८२ कार्तिक १३ गते ८:५३ मा प्रकाशित

काठमाण्डू, १३ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार राति अबेरसम्म चलेको सरकार, राजनीतिक दल र जेनजी आन्दोलनकारीका प्रतिनिधिबीच वार्ता भयो ।

कार्कीले २१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउने उद्देश्यले बैठक आयोजना गरेकी थिइन् ।
छलफलका क्रममा जेनजी आन्जी अगुवाहरुबीचमै एजेण्डामा मतैक्यता देखिएन । प्रत्यक्ष निर्वाचित कार्यकारी र संघीयता खारेजीको ऐण्डामा उनीहरुबीचको बेमेल दलका नेताहरुका अगाडि छरपस्ट भयो ।

जेनजीका तर्फबाट सुरुमै बोलेका मिराज ढुंगानाले प्रत्यक्ष कार्यकारीको निर्वाचन हुनुपर्ने र संघीयता खारेजी हुनुपर्ने माग राखे । उनलाई बीचैमा रोकेर अर्का जेनजी नेता उपअर्जुन चाम्लिङ राईले ढुंगानाको भनाइको खण्डन गरे ।

ढुंगानाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले आन्दोलनका क्रममा माग नै नउठेको विषयलाई एजेण्डा बनाउन नहुने बताए । संघीयता खारेज गर्ने बाटोमा अग्रसर भए अर्को विद्रोह हुने चेतावनी उनको थियो । आफूहरु वर्तमान संवैधानिक व्यवस्था र प्रणालीको पक्षमा रहेको र सुशासन मात्र आफूहरुको एजेण्डा रहेको चाम्लिङले बताए । संघीयता खारेज गर्न खोजिए कोशी प्रदेशबाट मात्र १० लाख मानिस काठमाण्डू आएर आन्दोलन गर्ने चेतावनी चाम्लिङले दिए ।

त्यतिबेला सरकारले थेग्न नसक्ने पनि उनले उल्लेख गरे । जेनजीका तर्फबाट बोलेका अन्यले पनि उनको भनाइमा समर्थन जनाए ।

वार्तामा जेनजीबाट ढुंगाना र चाम्लिङसहित रक्षा बम, मोनिका निरौला, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, भोजविक्रम थापा, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us