परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः प्रचण्ड

काठमाण्डु टुडे २०८२ कार्तिक १० गते १४:५७ मा प्रकाशित

काठमाण्डू, १० कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन ।

आज (सोमबार) पत्रकारसँग कुरा गर्दै माओवादी संयोजक प्रचण्डले यस्तो बताएका हुन । उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्ने पनि बताएका छन ।

संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताएका छन ।

उनले भने, ‘चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ’, उनले भने, ‘मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु ।

चुनावको वातावरण बनाउन हामी सबै लागौँ । सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।’ संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे ।

यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको पनि बताएका छन । उनले भने, ‘यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबिच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us