काठमाण्डु, ४ असोज–मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले दोश्रो संविधानसभाबाट पहिचानसहितको संघीय संविधान जारी नभए मधेसले अर्को विकल्प खोजी गर्ने बताएका छन् ।
पार्टी सम्वद्ध मधेसी विद्यार्थी फोरमले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले दोश्रो संविधानसभाबाट पनि संविधान बन्ने सम्भावना नदेखिएको भन्दै पहिचान बेगरमा संविधान जारी भए मधेसले अर्कै बाटो लिने बताए । तर कस्तो बाटो हो भन्ने बारेमा थप केही खुलाएनन् ।
यद्यपि यादवले दोश्रो मधेश आन्दोलनको तयारी सुरु भइसकेको बताए । ‘दोश्रो संविधानसभा पनि संविधान जारी हुने सम्भावना देखिएको छैन’, यादवले भने, ‘यदि पहिचानसहितको संघीय संविधान बनेन भने मधेस अर्को विकल्प रोज्न बाध्य हुनेछ ।’
यादवले सत्तारुढ काँग्रेस–एमालेका गतिविधिले संविधान नबन्ने आशंका बढेको बताए । यादवले जनतालाई शासकहरुले अधिकार नदिंदा इजरायल र इण्डोनेसिया टुक्रिएको चर्चा गर्दै नेपालमा त्यस्तो अवस्था नआओस् भन्नेमा बसै सचेत रहनुपर्ने अवस्था आएको उल्लेख गरे ।
‘शासकहरुले जनतालाई अधिकार दिन नचाहँदा इजरायल र इन्डोनेसिया टुक्रियो’, यादवले भने, ‘हामी चाहन्छौं कि नेपाल यस्तो नियतीको शिकार नबनोस् ।’