यी हुन् आफ्नै वडा पनि जिताउन नसक्ने एमाले पदाधिकारी

काठमाण्डु टुडे २०८२ भदौ १७ गते १४:३१ मा प्रकाशित

काठमाण्डू, १७ भदौ– हिजो (सोमबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एक अर्थपूर्ण अभिव्यक्ति दिए । एमाले उपमहासचिव ज्ञवालीले आफ्नो वडामा वडाध्यक्ष समेत जिताउन नसक्ने पार्टीका पदाधिकारीहरुले ठुला कुरा गर्ने गरेको भन्दा कडा रुपमा प्रस्तुत भए ।

एमाले उपमहासचिव ज्ञवालीले भनेका थिए, ‘ ‘देशमा ६ हजार ७४३ वडा छन्। हाम्रो कम्तीमा पनि ८० प्रतिशतभन्दा बढी वडामा बलियो जनाधार छ। हाम्रो संगठन छ। वडा कमिटीहरू छन्। प्रत्येक नेताले आफ्नो वडा जिताइदिएका भए त दिग्विजय नै हासिल गर्थ्यौँ त हामीले,’ ‘हामी कतिपय पदाधिकारी हौँला, जसले आफ्नो वडासमेत जिताउन सक्दैनन्, कुराचाहिँ ठूलठूला गर्दछन्।’

एमालेमा अहिले १८ जना रहेको केन्द्रीय सचिवालय छ। तर, वडासमेत जिताउन नसक्ने पदाधिारी भनेर ज्ञवालीले कसलाई भनेका हुन्, स्पष्ट हुँदैन। यद्दपि पार्टीभित्र केही नेताप्रति उनको आक्रोश छ भन्ने कुरा उल्लिखित अभिव्यक्तिले बताउँछ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा सक्रिय हुन जोडबल गरिहेकै छिन् ।

उनको नवीकरण भइसकेको सदस्यता रोक्ने निर्णयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डले असहमति राखिसकेका छन्। भण्डारीलाई एमालेको सदस्यता दिन रोक्न नहुने भनेर नेताहरू बोल्न थालेका छन् । एमालेको दोस्रो विधान महाधिवेशन नजिकै आउँदै छ। महाधिवेशनमा भण्डारीका पक्षमा खुल्ने प्रतिनिधिहरू बढ्ने आकलन भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रमध्ये एक ज्ञवालीले पदाधिकारीविरुद्ध गरेको टिप्पणीको निश्चित रूपमा राजनीतिक अर्थ छ ।

भण्डारीलाई एमालेको सदस्यता दिनुपर्ने भन्दै केही पदाधिकारी खुलिरहेका बेला ज्ञवालीको उक्त अभिव्यक्तिले एमाले राजनीतिक बजार तताएको छ। यस्तो बेला ओलीका निकट मानिने ज्ञवालीको अभिव्यक्ति पार्टीभित्र पदाधिकारी लक्षित सन्देशका रूपमा व्याख्या गरिएको छ ।

०७९ को स्थानीय तह निर्वाचनको परिणाम हेर्दा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट र पद्मा अर्यालले आफ्नै वडामा उम्मेदवार जिताउन सकेनन् ।

यद्यपि, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझी र छविलाल विश्वकर्माले भने आफ्नो वडामा पार्टी उम्मेदवारलाई जिताउन सफल भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us