सरकारको कामले प्रचण्डको मुख टालिएको छः महेश बर्तौला

काठमाण्डु टुडे २०८२ साउन २७ गते १६:०४ मा प्रकाशित

काठमाण्डू, २७ साउन– सत्ताको घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारको कामले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको मुख टालिएको दाबी गरेका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक बर्ताैलाले यस्तो बताएका हुन । उनले भने, ‘हिजो यही संसद्का बिभिन्न रोष्ट्रमबाट र बिभिन्न तहबाट यो देश बंगलादेश बन्दैछ, श्रीलंका बन्दैछ भनेर आरोपित गर्ने विपक्षी दलको नेताको मुख अहिले टालिएको छ ।’ १२ भदौ २०८१ मा संसद्‌मा बोल्दै बर्तौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेश र श्रीलंकामा नागरिकले गरेको आन्दोलन र आन्दोलनमार्फत सरकार फेरिएको घटना स्मरण गरेका छन् ।

प्रचण्डको त्यही अभिव्यक्तिप्रति संकेत गर्दै बर्तौलाले सरकारले सुधारका काम गरेपछि आरोपित गर्नेहरू चुप लागेर बस्ने अवस्थमा पुगेको बताएका हुन् । अगाडि भनेका छन्, ‘जुन ढंगबाट सुधारका कामहरू, परिवर्तनका कामहरू, आशाका किरणहरू । जुन ढंगले लगानी र व्यवसायिक वातावरण बन्दैछ । निजी क्षेत्र उत्साहित हुँदैछन् ।

यसले हिजो आरोपित गर्नेहरू, भ्रमको खेती गर्नेहरूको मुख आज टालिएको छ’, मुख्य सचेतक बर्तौलाले भने । केपी शर्मा ओली नेतृत्वको सरकारले कानुन निर्माणमा समेत प्रगति भएको उनले बताए ।

प्रतिनिधिसभाको चालू कार्यकालमा २७ वटा विधेयक पारित भएको र पछिल्लो एक वर्षमा मात्रै २३ वटा विधेयक पारित भएको बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा बनाएको भन्दा धेरै कानुन केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमा बनाएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us