काठमाण्डू, २६ साउन– कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का ३७ वर्षीय भरत चौधरीको शव चार दिनदेखि सेती प्रादेशिक अस्पतालमा रहेको छ । लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको शुक्रबार राति कारागारभित्रै कैदीबन्दी समूहबीच झडपमा मृत्यु भएको थियो ।
कारागारको पुरुष ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहितका ४९ जना कैदीबन्दीमाथि सांघातिक आक्रमण गरेका थिए । राति सेती प्रादेशिक अस्पताल पुर्याइएका चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक चौधरीको शव परिवारले बुझन् मानेका छैनन् । मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले निस्शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
मृतकका भाइ विजय चौधरीले दाजुको मृत्युपछि टुहुरो बनेकी छोरीको निस्शुल्क शिक्षा दिनुपर्ने र हत्यामा संलग्नको पहिचान गरी शीघ्र कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।जिल्ला प्रशासन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालले पीडित परिवारसँग छलफल समेत गरेका छन् । सो क्रममा सीडीओ हमालले धनगढी उपमहानगरपालिकाले मृतककी छोरीलाई पढाउने बचन दिइसकेको र सहयोगका लागि आफूले अन्य संघसंस्थामार्फत पहल गर्ने मौखिक प्रतिबद्धता जनाएका छन् ।
कारागारभित्र भएको हिंसात्मक घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइने उनले बताएका छन । मृतककी १५ वर्षीया छोरी अहिले ८ कक्षामा पढिरहेकी छन् ।
उनी डेढ वर्षको हुँदा आमाले दोस्रो विवाह गरेर गएको परिवारजनले बताएका छन् । सीडीओ हमालको प्रतिबद्धतापछि पीडित परिवारले घटनाको अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिने भएका छन् । प्रहरीले पनि मृतकका आफन्तले दिने जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने जनाएको छ ।