काठमाण्डू, २६ साउन– नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमा २५ जना सांसदले संशोधन प्रस्ताव गरेका छन । प्रतिनिधि सभाबाट पारित भइसकेको विधेयकलाई राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकोमा दश वटा समूहमा २५ जना सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएको स्रोतले जानकारी दिएको छ ।
सांसदहरूद्वारा दर्ता गरिएको संशोधन प्रस्तावले विधेयकमा समावेश अस्पष्ट प्रावधानहरू सच्याउने अपेक्षा गरिएको छ । विधायन व्यवस्थापन समितिले सोमवारदेखि विधेयकमाथि छलफल समेत थालेको छ ।
विधेयकमा नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले तोकिए बमोजिम स्वघोषणा गरेमा अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने’ व्यवस्था राखिएको छ ।
त्यस्तै १६ वर्ष उमेर पूरा नभएको र बाबु वा आमामध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचयपत्र दिन सकिने व्यवस्था विधेयकमा छ ।