रवि लामिछानेको मुद्दा न्यायाधीश सापकोटाको इजलासमा

काठमाण्डु टुडे २०८२ साउन २६ गते १२:१७ मा प्रकाशित

काठमाण्डू, २६ साउन– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै दिएको निवेदन पेसीमा तोकिएको छ ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा लामिछानेको पेसी चढेको अदालत स्रोतले जानकारी दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले १९ साउनमा आफूलाई जमानत लिएर रिहा गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए ।

लामिछानेले बिगोबापतको २ करोड ७४ लाख ८४ हजार दाखिला गरिदिएको बताएका छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

त्यसयता उनी भैरहवा कारागारमा छन् । उनले निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन् ।

६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सक्ने व्यवस्था छ । दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिने भन्ने व्यवस्था छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us