देउवा, ओली र प्रचण्डले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी म हुन्छुः गगन थापा

काठमाण्डु टुडे २०८२ साउन २५ गते १७:५० मा प्रकाशित

काठमाण्डू, २५ साउन– कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओली, आफ्नै पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिबाट सन्यास लिए सबैभन्दा बढी खुसी आफू हुने बताएका छन ।

आज (आइतबार) काठमाण्डूमा आयोजित युवासँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन । उनीहरूलाई त्यो आफूले अवमूल्यन गरेर नभनेको समेत उनले बताएका छन ।

महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, एमालेको अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको दिनबाट नेपाली राजनीतिबाट हामी सन्यास लिन्छौं भनेर भन्नुभयो भने म सबैभन्दा खुसी मानिस हुन्थेँ, ‘अवमूल्यन गरेर भनेको होइन एकदमै ठुलो सम्मान छ उहाँहरूप्रति ।

उहाँहरूले नेपालमा ठुलो योगदान गर्नुभएको छ ।’ उनले नेपालको राजनीति डेलिभरी गर्न नसक्ने ठाउँमा गएर अड्केको समेत बताएका छन । नेपाली राजनीतिप्रति वितृष्णा पैदा भएको बताउँदै थापाले राजनीति फोहोर जमेको पोखरी जस्तो भएको बताए ।

‘अहिले नेपाली राजनीतिप्रति वितृष्णा छ। यसको कारण भनेको नेपालको राजनीति फोहोर जमेको पोखरी जस्तो भएको छ,’ थापाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us