काठमाण्डू, २५ साउन– एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को पराकिलो अन्तरले पराजित भएको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गर्न सफल भएको थियो ।
समूहको सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंक जोडेर समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–२० महिला एसियन कपमा छनोट हुन सफल भएको छ । उत्तर कोरिया साविक विजेता समेत हो । उत्तर कोरियाले छनोटमा कूल ३६ गोल गर्दा कुनै गोल बेहोरेन । छनोटमा नेपालको यो पहिलो हार हो र यो हारपछि नेपालको छनोट हुने सम्भावना सकिएको छ ।
नेपालले ३ खेलबाट ४ अंक जोड्यो । नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेल्दा साउदी अरेबियासँग १–० ले विजयी भएको थियो ।
छनोटमा ८ समूहको विजेता सिधै छनोट हुनेछ भने उपविजेता हुने मध्ये उत्कृष्ट ३ टोली पनि अन्तिम चरणमा छनोट हुने प्रावधान छ । तर ५ वटा समूहमा दोस्रो हुने टिमको यसअघि नै ६ अंक भएकोले नेपालको उत्कृष्ट दोस्रो हुने सम्भावना पनि सकिएको छ ।