सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयक कुनै हालतमा पारित हुन दिँदैनौंः गगन थापा

काठमाण्डु टुडे २०८२ साउन ८ गते २३:०० मा प्रकाशित

काठमाण्डू, ८ साउन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताएका छन्।

काठमाण्डूमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले संसदमा सामाजिक सञ्जाल सम्बन्धी विधेयक दर्ता गराएको तर यसलाई जस्ताको तस्तै पारित हुन नदिने बताए ।

उनले सामाजिक सञ्जाल सम्बन्धी विषय प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मका लागि महत्वपूर्ण रहेको बताए । उनले विधेयकमा रहेको विषयवस्तुहरू आधारभूत रूपमा नै गलत रहेको बताए ।

विधेयकले अहिलेको पुस्ताको अधिकारलाई नियन्त्रण गर्ने बताए । सामाजिक सञ्जालको सही प्रयोग गर्नेतर्फ लैजानुपर्नेमा डराएर नियन्त्रणमुखी विधेयक ल्याएको महसुस भएको बताए ।

महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीदेखि हुनेवाला प्रधानमन्त्रीसम्मलाई यो विषय चाहिएको छ । त्यसको प्रमाण अहिले संसदमा आएको विधेयक हो। संसदमा आएको विधेयक आपत्तिजनक छ। त्यो विधेयक जस्ताको तस्तै पारित हुँदैन । हामी हुन दिन्नौँ । त्यसको कन्सेप्ट, फण्डामेण्ट्ली त्यो गलत छ । आधारभूत रूपमा किन गलत छ भने यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने सोचबाट आएको छ । त्यो नियन्त्रण गर्नुपर्छ भन्ने सोचबाट किन आयो भने हामी त्योसँग डराइयो । किन डराइयो भने यो के हो भन्ने नै बुझिएन। त्यसको बारेमा चिन्तन नगर्दा बुझिएन । अहिलेको जेनजी पुस्ताले इन्टरनेट नभएको समयको कल्पनै गर्द सक्दैनन् । उनीहरूले जन्मिँदै देखेर आएका छन् । सोसल मिडिया, सोसल नेटवर्क यो अवसर हो । यसको प्रयोग पनि हुन्छ, यसको कतिपय ठाउँमा खराब प्रयोग पनि भएको छ ।’

महामन्त्री थापाले सामाजिक सञ्जालबाट कोही पनि टाढिन नसक्ने बताए । उनले सामाजिक सञ्जाल जीवनको एउटा भाग बनिसकेको बताए । –न्युज एजेन्सी नेपाल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us