काठमाण्डू, ८ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघ सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरू तत्कालका लागि परिवर्तन नगर्ने भएका छन । सरकार गठनको एक वर्ष र कही मन्त्रीहरू ‘घुस डिल’ को काण्डमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग केही मन्त्रीहरू परिवर्तनको प्रस्ताव राखेका थिए ।
निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो । तर ओलीको प्रस्तावप्रति देउवाले असहमति जनाएका हुन् । उनले भने, ‘तपाईंले आफ्ना पार्टीका परिवर्तन गर्ने भए गर्नुस्, कांग्रेसका मन्त्रीहरू परिवर्तन हुन्नन् ।’
उनले आफू प्रधानमन्त्री बन्ने वेलामा मात्रै मन्त्री परिवर्तन गर्ने बताएका थिए । सभापति देउवाले कतिवेला मन्त्रीहरू परिवर्तन गर्छन् र आफ्नो पालो आउला भनी बसेका कांग्रेस सांसदहरूलाई पनि आफू प्रधानमन्त्री हुने वेलामा मात्रै मन्त्री परिवर्तन हुने बताउन थालेका छन् । ‘मन्त्री परिवर्तनको हल्ला चलेको छ, हामी कहिले हो हुने ?’ केही दिनअघि देउवालाई भेट्न गएका एक सांसदले सोधेका थिए ।
जवाफमा देउवाले भनेका थिए, ‘अहिले परिवर्तन हुँदैन । अब म प्रधानमन्त्री हुने वेलामा फेर्ने हो ।’ यता देउवालाई मंगलबार भेट्न पुगेका कांग्रेसका पाँच पूर्वपदाधिकारीले पनि पार्टीका तर्फबाट मन्त्री बनेकाहरूको कार्यसम्पादन मूल्यांकन गर्दै राम्रो काम गर्न नसक्नेलाई फिर्ता बोलाउन सुझाएका थिए । यसरी सुझाव दिनेहरूमा पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत थिए ।