काठमाण्डू, ८ साउन– भक्तपुरको थिमी नगरपालिका–८ बोडेस्थित सिन्टीटारमा मृत भेटिएका दिदी बहिनी भारतबाट ३ साताअघि भागेर भक्तपुर आएको पाइएको छ । उनीहरू बिहीबार बिहान पौने ७ बजेतिर मृत अवस्थामा फेला परेका थिए । छिमेकी देश भारतको महाराष्ट्रस्थित मुम्बईको मिरा भाइन्दरबाट १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना भागेर नेपाल आएका हुन् ।
उनीहरूको स्थायी ठेगाना भने सुर्खेतको पञ्चपुरी नगरपालिका–८ हो । प्रहरीका अनुसार उनीहरू स्थानीय चक्रधर प्रजापतिको घरमा डेरा लिएर बस्दै आएका थिए । सोही घरको डेराको प्यासेजमा झुन्डिएको अवस्थामा दिदी बहिनीको शव भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन ।
भारतबाट भक्तपुरमा आए लगत्तै डेरा खोज्न जाँदा उनीहरूले भनेका थिए, ‘यहाँ कलेज पढ्छौँ ।’ मुम्बईमा अभिभावकलाई कम्प्युटर कक्षा जान्छौँ भनेर हिँडेका उनीहरू नफर्किएपछि सुरुमा अभिभावकले भारतीय प्रहरीलाई जानकारी गराएका थिए । भारतीय सञ्चार माध्यम ‘सिगास टेलिभिजन’सँग कुरा गर्दै मृतककी आमा उमा कँडेलले भनेकी छन्, ‘कम्प्युटर कक्षा लिन जान्छौँ भनेर उनीहरू डेराबाट निस्केका थिए ।’ पछि दिदी बहिनीले बाबुआमालाई म्यासेज गरे ।
आमा उमा कँडेलका अनुसार भ्वाइस म्यासेज पठाएर उनीहरूले भनेका थिए, ‘हामी बैंगलोर गयौं, पैसा कमाएपछि आउँछौँ ।’ मेनुका दिदी र सृजना बहिनी हुन् । हराएपछि प्रहरीलाई भनेर लोकेसन हेर्दा भिउण्डी पुगेको देखिएको उमाले भारतीय सञ्चारमाध्यमलाई जानकारी गराएकी छन् । मृत फेला परेका उनीहरूले गएराति टिकटक पनि बनाएको भेटिएको छ ।
यस्तै घटनास्थलमा मोबाइल फेला परेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार भक्तपुरमा आएपछि उनीहरूले एउटा गार्मेन्टमा काम समेत गर्न थालेको बताइएको छ ।
त्यसबारे यकिन गर्ने काम भइरहेको प्रहरी अधिकृतहरू बताउँछन् । यस्तै उनीहरूले किन मृत्युको बाटो रोजे भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।