काठमाण्डू, ८ साउन– कम्पनी रजिस्टारको कार्यालयको निमित्त रजिस्टारमा देवीप्रसाद सुवेदीलाई तोकिएको छ । कार्यालयको अनलाइन सिस्टममा चलखेल गरी खुलेआम रूपमा घुस लिएको आरोपपछि कम्पनी रजिस्टार ईश्वरकुमार गिरीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तानेर सुवेदीलाई निमित्त रजिस्टार तोकिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
बुधबार रजिस्ट्रार गिरी र उपरजिस्टार सोमराज बराल सहायक रजिस्ट्रारद्वय रविन कार्की र भीमप्रसाद पराजुलीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको छानबिन समितिले स्पष्टीकरण सोधेको थियो । उनीहरूलाई विभागीय कारबाही गर्ने प्रयोजनका लागि निजामती सेवा ऐनको दफा ६६ अनुसार छानबिन समितिले स्पष्टीकरण सोधेको जनाइएको छ ।
यसअघि घुस लिएको विवादपछि कम्पनी रजिस्टार कार्यालयका ३१ जना कर्मचारीको सरुवा गरिएको थियो । कार्यालयमा नयाँ कर्मचारी नियुक्त गरी स्वरूपलाई फङसनल बनाउने मन्त्रालयका सहसचिव छविन्द्र पराजुलीले जानकारी दिएका छन ।