काठमाण्डू, ८ साउन– आज ( बिहिबार ) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले बैठक बहिस्कार गरेका छन् ।
यो सँगै रास्वपा र राप्रपाले संसद बैठकमा अबरोध गरेको ५९ औँ दिन पुगेको छ । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन्।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद डा.तोषिमा कार्कीलाई बोल्न दिएका थिए ।
उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताइन्। त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्ने समय दिए।
उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए।