काठमाण्डू, ८ साउन– पूर्व संस्कृती पर्यटनमन्त्री समेत रहेका एमाले सचिव योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु नहुने बताएका छन् ।
बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै एमालृे सांसद भट्टराईले यस्तो बताएका हुन । उनले नेपालमा ५५ वटा विमानस्थलहरु रहेको र त्यसमध्ये सञ्चालमा ३२ वटा मात्रै रहेको पनि बताएका छन । नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफलको क्रममा भट्टराईले सरकारले नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थल थप्ने कुरा ल्याउनु उचित नभएको उनको भनाई छ ।
१९४९ सालमा पहिलोपटक हवाई सेवा सुरु गरेको नेपालमा अहिलेसम्म १०८ वटा दुर्घटना हुँदा ९५९ जना मानिसको ज्यान गएको पनि उनले बताए । एमाले सांसद भट्टराईले भने, ‘यति छोटो अवधिमा यति धेरै दुर्घटना भएका छन् ।
जाँचबुझ आयोगले निर्क्यौल गरेका दुर्घटनाहरूलाई कसरी न्यूनीकरण गर्ने, मानवीय त्रुटी, जहाजका प्राविधिक समस्या, व्यवस्थापकीय समस्या समाधान गर्ने यी ऐनहरू बनाइरहेका छौँ ।’ अब पनि विमानस्थल थप्ने कुरा फेसन भएकाले राजनीतिक दबाबमा विमानस्थल थप्न नहुने र भएकालाई व्यवस्थित बनाई विस्तार गर्न जरुरी रहेको पनि बताएका छन । उनले भने, ‘५५ वटा एयरपोर्ट हाम्रोसामु छन् ।
अब नेपालमा कति एयरपोर्ट चाहिन्छ रु हाम्रो भूगोल, जनसंख्या, सडक यातायातको पहुँच आदि कुराहरूले अब एयरपोर्टको प्राथमिकताका बारेमा पनि छलफल हुनुपर्छ’ उनले भने, ‘५५ वटा एयरपोर्टमध्ये ३२ जति सञ्चालनमा होलान् । त्यही पनि सबै नियमित छैनन् ।’ भट्टराईले नीजगढ अन्तर्राष्ट्रिय एयरपोर्टमात्रै अबको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।