काठमाण्डू, ८ साउन– सत्ता घटक दल एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा पुनरागमन रोक्ने निर्णय गरेपछि उनको पक्षमा खुलेका सबै नेताहरू गुमगामा भएका छन ।
प्रारम्भिक चरणमा विद्यालाई राजनीतिमा आउन उकासने नेताहरु वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे तथा अन्य करिब तीन दर्जन समेमबार र मंगलबारको एमालेको मुख्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकमा मौन बसे । बैठकमा मात्र तीन नेताहरू ज्ञवाली, पाण्डे र कर्ण थापाले औपचारिक रूपमा असहमति जनाए ।
स्रोतका अनुसार बैठक मध्यरातमा हतारमा टुंग्याइएकाले अन्य नेताहरूले बोल्ने वा असहमतिको टिप्पणी लेख्ने अवसर पाएनन् । विद्या निकट नेताहरूले बैठकमा बोल्न नदिइएको, होहल्लाबीच बैठक सकिएको र अध्यक्ष ओलीले कारबाहीको चेतावनी दिएका कारण धेरैजसो चुप बसेको बताइएको छ । केपी ओलीले बालुवाटारमा केही नेताहरूसँग विशेष छलफल गरेपछि उनीहरू चुप लागेका शंका पनि उठेका छन् ।
ओलीले आगामी अध्यक्ष बन्ने बाटो खुला गर्न ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमालाई विधानबाट हटाउने तयारी गरेका छन् । पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिस्पर्धी ठानेर उनलाई रोक्ने निर्णय गरिएको विश्लेषण छ । विद्या भण्डारी पक्षधर नेताहरूले चाँडै आफ्ना धारणा सार्वजनिक गर्ने जनाएका छन् । कर्ण थापा जस्ता नेताहरूले भने निर्णयको राजनीतिक प्रतिवाद गर्ने बताएका छन् ।