काठमाण्डू, ८ साउन– धनुषामा विद्युतीय मोटर चलाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका–३ मलहनिया बस्ने ६० वर्षीय असर्फी महरा रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
बुधबार दिउँसो पौने ४ बजेतिर आफ्नै खेतमा पानी सिँचाइ गर्ने क्रममा मोटरमा जडान गरिएको तार सर्ट भएर करेन्ट लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ ।
उपचारका लागि स्थानीय क्लिनिक हंसपुरमा लगिएकोमा उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन । यसअघि बुधबार नै मधेश प्रदेशको रौतहटमा धान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दुई जना किसानको मृत्यु भएको थियो ।
मधेशमा खडेरीका कारण किसानहरूले धान रोप्न पाएका छैनन् भने रोपिसकेको धान सुक्न थालेपछि किसानहरूले विकल्पको रूपमा विद्युती मोटरबाट सिँचाइ गरिरहेका छन् ।