काठमाण्डू, ७ साउन– एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक्ने केन्द्रीय समिति निर्णयमा आफ्नो असहमति रहेको बताएका छन् ।
पोखरेलले भण्डारी राजनीतिमा फर्कने विषयको ‘च्याप्टर क्लोज’ नभएको उल्लेख गरे ।
मंगलबार मध्यरातमा सकिएको एमाले केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले गणतन्त्र र संविधानको रक्षाका लागि पनि राष्ट्रपतिजस्तो मर्यादित जिम्मेवारीमा रहिसकेकी भण्डारी पार्टी राजनीतिमा फर्कन नसक्ने निर्णय सुनाएका थिए ।
ओलीले निर्णय सुनाएलगत्तै सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापासहित नेताले त्यसमा असहमति जनाएका थिए ।
आफूसहित कतिपय नेताको असहमति रहेको भए पनि बैठकमा बोल्ने वातावरण नभएको पोखरेलले खुलाए ।
‘निर्णय सुनाएपछि असहमति राख्ने साथीहरुले बोल्न खोज्दै हुनुहुन्थ्यो । असहमति राख्न दिइएन, वातावरण नै भएन’, पोखरेलले भने, ‘यो निर्णयमा मेरो सहमति छैन । पार्टीभित्र र बाहिर म यसबारे आफ्नो असहमति राख्छु । विद्या भण्डारी राजनीतिमा फर्कने विषयको ‘च्याप्टर क्लोज’ भएको छैन ।’
पोखरेलले भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउने विषयको छलफल नसकिएको बताए ।
‘यो विषयमा छलफल सकिएको छैन । यो विषय फेरि उठ्छ, अनेक कोणबाट कुरा हुन्छ । विद्या भण्डारीको पार्टी जीवन अगाडि बढ्ने कुरा रोकिँदैन’, बीबीसी नेपाली सेवासँग बुधबार उनले भनेका छन्, ‘अध्यक्ष केपी ओली र विद्या भण्डारी दुई घण्टासम्म च्यासलमा छलफल गरेर समझदारीका साथ अगाडि जाने सहमति भएपछि यो स्तरको विवाद निम्त्याउन जरुरी नै थिएन ।’
तेजोबध गरेर यो विषय नटुंगिने भन्दै पोखरेलले एउटा नागरिकका रुपमा पुरानो घर फर्कन्छु भन्दा भण्डारीलाई रोक्नुपर्ने कुनै कारण नरहेको तर्क पोखरेलको छ ।