विद्या भण्डारी लक्षित ओलीको टिप्पणीः विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने प्रवृत्ति

काठमाण्डु टुडे २०८२ साउन ७ गते २०:५७ मा प्रकाशित

काठमाण्डू, ७ साउन– प्रधानमन्त्री केपी ओलीले सच्चा कम्युनिष्टले विरोधीसँग घाँटी जोडेर आफ्नो दुनो सोझ्याउने काम नगर्ने बताएका छन् ।
नपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसका अवसरमा एमाले मुख्यालय च्यासलमा बुधबार आयोजित कार्यक्रममा ओलीले विरोधीसँग घाँटी जोड्ने काम सच्चा कम्युनिष्टले नगर्ने बताए । उनको भनाइ पूर्वराष्ट्रपति विद्या भण्डारी लक्षित थियो ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र छिमेकीको इशारामा भण्डारी सक्रिय राजनीतिमा फर्कन चाहेको आफू निकटहरुसँग बताउने गरेका छन् । मंगलबार मध्यरातमा सकिएको एमाले केन्द्रीय समिति बैठकले भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन रोक्ने निर्णय गरेको थियो ।
कार्यक्रममा ओलीले कम्युनिष्ट संस्थापक पुष्पलालमा सही विचारका साथै गतिशिलता र समर्पण भाव रहेको बताए । पुष्पलालमा केही सीमाहरु रहेको भए कम्युनिष्ट आदर्शप्रति उनी सधै दृढ रहेको तथा जात र धर्मबाट माथि उठेको बताए ।

पुष्पलालले कहिल्यै आफ्नो धरमा श्रेष्ठ नलेखेको पनि उनले सुनाए । उनले पुष्पलालका उत्तराधिकारी एमाले कार्यकर्ताले उनको आदर्श बिर्सन नमिल्ने जिकिर गरे ।

विक्रम सम्वत १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालको ३०३५ साल साउन ७ गते उपचारका क्रममा दिल्लीमा निधन भएको थियो ।
पुष्पलालको नेतृत्वमा १० वैशाख २००६ कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us