प्रचण्ड, माधव र विप्लवतिर हेर्दै उपेन्द्रले भनेः नेपालमा अब कम्युनिष्ट आन्दोलन सकिनेतिर छ

काठमाण्डु टुडे २०८२ साउन ७ गते १६:५७ मा प्रकाशित

काठमाण्डू, ७ साउन– जनाता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको दाबी गरेका छन । आज (बुधबार) काठमाण्डूमा आयोजित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृतिसभामा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो दाबी गरेका हुन ।

उनले कम्युनिष्ट आन्दोलनबाट उदार प्रजातान्त्रिक आन्दोलनतिर भड्किइरहेको पनि बताए । यादवले सम्बोधन गरिरहँदा मञ्चमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरू थिए ।

यादवले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिवलाई समेत दुई वर्ष नबित्दै षड्यन्त्र गरेर हटाइएको स्मरण गर्दै कम्युनिष्टको जन्मकालमै षड्यन्त्र रहेको टिप्पणी गरे । उनले भने, ‘नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवन्त संघर्ष गर्ने व्यक्तित्वको रूपमा पुष्पलाललाई लिनुपर्छ’ उनले भने, ‘बिडम्वना के छ भने ००६ सालमा कलकतामा उहाँले कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । दुई वर्षमै यति धेरै षड्यन्त्रकारीहरु पार्टीमा घुसे ।

००८ सालमै पार्टीको महासचिवबाट हटाइयो ।’ उनले अहिलेसम्म पनि कम्युनिष्ट पार्टीमा षड्यन्त्र गर्ने कुराको अन्त्य हुन नसकेको पनि बताएका छन । उनले भने, ‘षड्यन्त्र त कम्युनिष्ट पार्टीको जन्मकालदेखि नै चल्दै आएको रहेछ, जो अहिलेसम्म अन्त्य भएको छैन, ‘नेपालमा कम्युनिष्ट आन्दोलन करिब करिब समाप्त भएको अवस्थामा म देख्छु । कम्युनिष्ट आन्दोलनबाट लिबरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us