काठमाण्डू, ७ साउन– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दल हरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो अवरोध कायमै राखेका छन । यो सँगै रास्वपा र राप्रपाले संसदमा विरोध जनाउँन थालेको ५८ औँ दिन पुगेको छ । बुधबारको बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरू उठे ।
सभामुखले समय दिएपछि रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले भिजिट भिसाका नामा नेपाली बेचिने काम भइराखेको बताइन् । तस्करको सेटिङ नरोकिएको भनेर उनले सरकार गम्भीर नरहेको बताइन् ।
७८ लाख घुस डिल गरेको आरोप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएको तर, ३२ लाख घुस डिल गरेको आरोप लागेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी संसद्मै रहेको बताइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जताततै भ्रष्टाचार रहेको बताए । भ्रष्टाचार अन्त्य गर्नका लागि छानबिनमा राजनीतिक नेतृत्वलाई ल्याइनुपर्ने उनको आग्रह छ ।
नेपालबाट कोरिया जानेलाई एउटै प्लेनबाट जाने भनेर कुरा मिलाएर खानेहरू समेत रहेको उनले बताए । आफूहरूले संसद्मा गरेको विरोध सरकारले नसुनेको पनि उनले बताए । भ्रष्टाचारसँग सम्बन्धित विषयमा छानबिन गर्न सरकार तयार नभए सडकबाट दबाब दिने उनको चेतावनी छ ।