काठमाण्डू, ७ साउन– भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ०८२ फेरि संसद्को सम्भावित कार्यसूचीमा चढेको छ । बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरअनुसार आगामी शुक्रबार भूमिसम्बन्धी विधेयक अगाडि बढ्ने भएको छ ।
शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् वा दफावार छलफल सदनमा गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने’ सम्भावित कार्यसूची छ । यसअघि गत २५ असारमा पनि यो विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची थियो ।
तर, सत्तारुढ दल कांग्रेसले थप छलफल आवश्यक रहेको तर्क गरेपछि रोकिएको थियो । त्यसयता संसद्को कार्यसूचीमा आउन नसकेको भूमिसम्बन्धी विधेयक नयाँ क्यालेन्डरमा आएको हो ।
यो विधेयक २३ वैशाख २०८२ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । यही विधेयकमा असन्तुष्टि जनाएर जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । नेकपा एमालेले भने फास्ट ट्र्याकमा अगाडि बढाउन खोजिरहेको छ । तर कांग्रेसले मानिरहेको छैन ।