
काठमाण्डू, २७ असार– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा। कृष्णहरि पुष्कर कर्णले वैदेशिक रोजगारलाई ‘पलायन’ भनिनु आपत्तिजनक रहेको टिप्पणी गरेका छन् ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा पुष्करले वैदेशिक रोजगारीलाई ‘पलायन’ भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताए ।
‘एउटा गलत न्यारेटिभ्स नेपालमा के देखिएको छ भने श्रम आप्रवासन पलायन, पलायन, पलायन भन्ने गरिएको छ’, पुष्करले भने, ‘बुझेर हो कि नबुझेर हो हामीलाई थाहा छैन । तर वैदेशिक रोजगार पलायन होइन । यो आर्थिक क्रिकलापको स्रोत हो । अनुभव सिक्ने अवसर पनि हो ।’
जसका छोराछोरी विदेश अध्ययनमा गएर उत्तै ग्रिनकार्ड लिएर पलायन भएका छन् उनीहरुले नै वैदेशिक रोजगारीबारे भ्रम फैलाएको आरोप लगाए । ‘ठूला बडाका सन्तानहरू विदेशमा अध्ययन गर्न जाने र उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने, तर नेपालमा श्रम नपाएर साउदी, कतार, मलेसिया लगायतका देशहरुमा काम गर्न जाँदा पलायन कसरी हुन्छ ?’ उनको प्रश्न थियो ।
अध्यागमनको तथ्यांकअनुसार करिब ५५ लाख नेपाली वैदेशिक रोजगारीमा गएको र ४५ लाख स्वदेश फर्किएको उल्लेख गरे ।