
काठमाण्डू, २६ असार– दुई साताअघि एमाले राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीबीच आफ्नो विषयमा भएको भनिएको कुराकानीप्रति आपत्ति जनाएकी छन् ।
ओलीसँग मंगलबार बालुवाटारमा भएको भेटवार्तामा भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयमा देउवाले कुरा उठाएका थिए । उनले राष्ट्राध्यक्षका रुपमा नेपाली सेनाको परमाधीपति भइसकेकी भण्डारी राजनीतिमा फर्कंदा प्रणालीमाथि नै पश्न उठ्ने भन्दै आलोचना गरेका थिए । उनले भण्डारीलाई राजनीतिमा आउन नदिन पनि ओलीलाई भनेका थिए ।
जवाफमा ओलीले भण्डारीका विषयमा पार्टीले कुनै निर्णय नगरेको र पार्टी सदस्यता नवीकरण उनको निजी निर्णय भएको भन्दै असन्तुष्टि जनाएका थिए ।
भण्डारीले समाचारहरुमा आएजस्तो आफ्नाबारे त्यसरी छलफल भएको भए सह्य नहुने चेतावनी दिइन् । आफूलाई नेपालकी छोरी दाबी गर्दै उनले आफू सक्रिय हुँदा खुसी भएर सहयोग गर्नुपर्ने ठूला नेताहरुले चुनौती महसुस गर्नु राजतन्त्रात्मक शैली भएको आरोप लगाइन् ।
‘यदि यो सत्य हो भने । म एकजना नेपालको छोरी हो । ठूला नेताहरु मेरो विषयमा त्यसरी किन छलफल गर्छन् मलाई जिज्ञाशा भएको छ । म सक्रिय हुन चाहँदा राम्रो एजेण्डामा सबैले सहयोग गर्नुपर्ने हो । ठीक एजेण्डा मैले उठाइराखेको छु भने’, इमेज च्यानलका लागि पत्रकार जगदिश खरेलसँग कुरा गर्दै उनले भनेकी छन् ‘अर्को प्रसंग म के भन्छु भने गणतन्त्रात्मक पद्धति र राजतन्त्रात्मक पद्धति फरक हो । यो गणतन्त्रात्मक पद्धति भनेको लोकतान्त्रिक ढंगले नै राजनीतिक नेतृत्वको छनोट हुने राजनीतिक प्रणाली हो । राजतन्त्र र गणतन्त्र फरक कुरा हो । यो चाहिं वंशाणुगत कुरा हो । यसरी नेताहरुले गणतन्त्रलाई राजतन्त्रसँग तुलना गर्नुभयो भने चाहिं यो उहाँहरुको बुझाइमा केही दूरी छ । उहाँहरुले गणतन्त्र र राजतन्त्र बुझ्न सक्नुभएन ।’
उनले आफूले राष्ट्पति हुँदा पदको गरिमा बचाएको दाबी गर्दै सक्रिय राजनीतिमा आएर गणतन्त्र र राष्ट्रपति पदको गरिमा थप बढाउन चाहेको तर्क गरिन् । ‘गलत काम ग¥यो भने पदको गरिमा घट्छ जुनसकुकै पदको पनि । राम्रो काम ग-यो भने राष्ट्रपति÷प्रधानमन्त्री पदको गरिमा बढ्छ । मेरो काम राष्ट्रपति पदको गरिमा बढाउने र लोकप्रिय बनाउने हो’, उनले भनिन् ।