अमेरिकाको टेक्सासमा भीषण बाढी, २४ को मृत्यु, कयौं बेपत्ता

काठमाण्डु टुडे २०८२ असार २१ गते १०:४९ मा प्रकाशित

एजेन्सी– अमेरिकाको टेक्सास राज्यस्थित केर काउन्टी क्षेत्र भीषण बाढीले तहसनहस भएको छ ।
लगातारको भारी वर्षापछि शुक्रबार आएको बाढीमा कम्तिमा २४ जनाको ज्यान गएको छ । न्यूयोर्क टाइम्सका अनुसार बाढीमा अझै २५ भन्दा बढी बेपत्ता छन् ।

स्थानीय प्रशासनले उद्धार कार्य जारी रहेको बताउँदै मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेको छ ।

स्थानीय ग्वाडलुप नदीको जलस्तर सामान्यभन्दा धेरै बढेर ७.९ मिटर पुगेपछि आसपासका बस्तीहरू जलमग्न भएका छन् । बाढीमा फेसका २ सय ३७ जनालाई सुरक्षित रूपमा उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।

उद्धार कार्यमा हेलिकप्टर र ड्रोनको समेत प्रयोग गरिएको छ । राज्यका गभर्नर ग्रेग अब्बटले आपतकाल घोषणा गर्दै उद्धार कार्य निरन्तर चलाइने बताएका छन् ।

जनधनको ठूलो क्षतिको कारण स्वतन्त्रता दिवसको उपलक्ष्यमा तय गरिएका सबै कार्यक्रमहरू रद्द गरिएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाढीबाट भएको धनजनको क्षतिप्रति आफूलाई दुःख लागेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us