
काठमाण्डू, २१ असार– काँग्रेस महामन्त्री गगनकुमार थापाले देशमा कुनै खतराको संकेत नआएको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा थापाले देशमा खतरा उत्पन्न हुन लागेको भन्ने कुरा नपत्याउन आग्रह गरे । मुलुकमा गर्नुपर्ने र हुनुपर्ने जति नभएको स्वीकार गर्दै उनले केही राम्रो नभएको भन्ने भ्रम फैलाउने कोसिस भएको उल्लेख गरे ।
देश बर्बाद भयो, झुर भयो, केही पनि भएन भन्नेहरुले खतरा छ भनेर भन्दैमा कसैले विश्वास गर्नुपर्ने अवस्था नभएको उनको भनाइ थियो ।
देशमा केही राम्रो भए पनि अपेक्षित सुधार गर्न नसकिएको स्वीकार गर्दै उनले राम्रो कामका लागि धन्यवाद र अपुगका लागि प्रश्न गर्न भने । प्रश्न गर्नेहरुले बाँकी काम म गर्छु भनेर जिम्मा लिनुपर्ने उनले बताए ।
थापाले अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाए ।
‘कसैले यो देशमा खतरा भएको छ भनेर नपत्याउनुस् । कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस् । दुवै कुरामा सत्यता छैन’, थापाले भने, ‘यो देशमा केही राम्रो भएको छ, केही राम्रो गर्न सकिएको छैन । राम्रो गरेकोमा धन्यवाद भन्नुस्, गर्नुपर्ने जति किन गरिएन भनेर प्रश्न गर्नुस् ।’