एमालेभित्रै गहिरिँदो ध्रुवीकरणः अल्पमतमा ओली, बलियो बन्दै विद्या

काठमाण्डु टुडे २०८२ असार १७ गते १६:०२ मा प्रकाशित

काठमाण्डू, १७ असार– सत्ता घटक दल एमाले भित्र पछिल्लो समय शक्ति सन्तुलन तीव्र रूपले परिवर्तन हुँदै गएको संकेत देखिएको छ । १४ असारमा आयोजित सार्वजनिक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्कने संकेत दिएपछि पार्टीभित्र ध्रुवीकरणको गति झनै तिब्र बनेको चर्चा छ ।

एमाले नेता तथा कार्यकर्ताहरु पछिल्लो समय पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेतृ एवं पूर्व राष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेरै लाग्न थालेका छन । १४ असारको कार्यक्रममा भण्डारीले बोलेका शब्द र त्यसपछि नेताहरूको उपस्थितिले पार्टी दुई धारमा बाँडिएको सन्देश दिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, भण्डारी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीचको सार्वजनिक अभिव्यक्तिले अब पार्टीभित्र गम्भीर गुटगत शक्ति संघर्ष प्रारम्भ भएको पुष्टि गरेको छ ।

पदाधिकारीहरू को कता ?

एमालेका १९ पदाधिकारीमध्ये स्रोत अनुसार ९ जना विद्या भण्डारीको पक्षमा स्पष्ट देखिएका छन् भने ओली पक्षमा ७ जना खुलेर उभिएका छन् । बाँकी २ जना हालसम्म मौन छन् । सचिव टोपबहादुर रायमाझी निलम्बनमा रहेका छन् ।

विद्या भण्डारी समूहको नेतृत्व अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् । ओलीको लाइनविरुद्ध काउन्टर रणनीति अघि सार्दै पोखरेलले हालै विभिन्न आन्तरिक बैठक र सार्वजनिक अभिव्यक्तिमा विद्या पक्षधरता देखाएका छन् ।

विद्या भण्डारी समूहमा सम्भावित नेताहरू

(वरिष्ठ उपाध्यक्ष) ईश्वर पोखरेल, (उपाध्यक्ष)हरु सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, यस्तै (उपमहासचिव) पृथ्वीसुब्बा गुरुङ, (सचिव) गोकर्ण विष्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा लागेका छन । यीमध्ये केहीले खुलेर धार नबताए पनि पार्टीभित्र उनीहरूको अघिल्लो कार्यशैली, व्यवहार र भनाइले उनीहरू भण्डारी पक्षधर हुने अनुमान गरिएको छ ।

विशेषतः पाण्डे, ज्ञवाली र शाक्यजस्ता नेताहरूले विगतमा माधव नेपाल पक्षमा उभिएर ओलीको निर्णयको आलोचना गरेका थिए । उनीहरू पार्टी विधानमा रहेको ७० वर्षे उमेरसीमा र कार्यकाल सीमाका पक्षधर मानिन्छन् । जुन कुरा ओलीको सम्भावित निरन्तरताको विपक्षमा जान्छ ।

ओली समूहको हालको स्थिति

अध्यक्ष ओलीको पक्षमा खुलेर उभिएका पदाधिकारीहरूमा उपाध्यक्ष हरु रामबहादुर थापा (बादल) , गुरु बराल, (महासचिव) शंकर पोखरेल यस्तै (उपमहासचिव) प्रदीप ज्ञवाली, विष्णु रिमाल र (सचिव) पद्मा अर्याल रहेका छन ।

यीमध्ये महासचिव पोखरेलले हालै पोखरामा आयोजित कार्यक्रममा विद्या भण्डारीको राजनीतिक सक्रियता र सम्भावित प्रवेशमाथि तीव्र आलोचना गरेका थिए । उनले सचिवालयमा समेत भण्डारीलाई पुनःसक्रिय हुन रोक लगाउने प्रस्ताव प्रस्तुत गरेका थिए ।

मौन धारण गरेका नेताहरूमध्ये विष्णु पौडेल (उपाध्यक्ष) र लेखराज भट्ट (सचिव) । विष्णु पौडेल केही समयअघि भण्डारीनिकट मानिए पनि हाल अर्थमन्त्री भएपछि मौन छन् । अर्कोतर्फ सचिव लेखराज भट्टको धार अझै अस्पष्ट छ ।

महासेठको स्थिति

रघुवीर महासेठको राजनीतिक यात्राले पनि गम्भीर ध्यान खिचेको छ । उनी पहिले ओलीनिकट मानिए पनि उनी वास्तवमा वामदेव गौतमनिकट नेताका रूपमा चिनिन्छन् । गौतमले ओली पक्ष रोज्नुभन्दा पहिल्यै महासेठले उनैलाई छाडेको स्रोत बताउँछ ।

ओलीको नीतिगत वर्चस्व र नियन्त्रणलाई चुनौती दिन सक्ने हैसियतमा अब विद्या भण्डारीको पक्ष बलियो बन्दै गएको देखिन्छ । आगामी महाधिवेशनसम्म पुग्दा पार्टीभित्रको सन्तुलन कता जाने हो भन्ने विषय अबको समयले बताउनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us