
काठमाण्डू, १३ असार– वीरगन्जको बगहिमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका २८ स्थानीय १७ वर्षीय आकाश पटेल र १६ वर्षीय गोलु पटेल रहेको जिल्ला कार्यलय पर्साले जनाएको छ । वीरगन्ज महानगरपालिका २८ को बगही टोलमा शुक्रबार दिउँसो माटो बोकेको ट्याक्टर पल्टिएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा वीरगन्ज–२८ इनर्वा गाउँका १९ वर्षीय जयकुमार मण्डल गम्भीर घाइते भएका छन् । भेडाहा खोलाबाट माटो लिएर बगगी गाउँको खेततर्फ जाँदै गरेको नम्बर प्लेट मेटिएको ट्याक्टर शुक्रबार दिउँसो २ बजेतिर अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेर दुर्घटना भएको थियो ।
आफैँ अनियन्त्रित भई खसेको ट्याक्टरमा च्यापिएर चालक आकाश र ट्याक्टरमा सवार गोलुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिएका छन । ट्याक्टर दुर्घटना बारे जानकारी पाएलगत्तै घटनास्थलमा प्रहरीले पुगेको थियो ।
मृतक दुवैको शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाएको तथा घटना बारे अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।