
काठमाण्डू, १३ असार– आज देशभर मनसुनी वायु सक्रिय रहेको छ ।
देशका अधिकांश भू–भागकमा पूर्णदेखि सामान्य बदली रहने र केही स्थानहरूमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बिहानैबाट हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ । काठमाण्डू उपत्यका आसपास क्षेत्रमा सामान्य बदली रहेकाले दिउँसो हल्का वर्षा हुन सक्ने अनुमान महाशाखाको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने र कोशी, बागमती र गण्डकीका केही स्थानहरूमा हल्का–मध्यम वर्षासहित चट्याङको सम्भावना छ ।
त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने आशंका पनि महाशाखाको छ ।
रातिमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानहरूमा हल्का–मध्यम वर्षासहित गडगडाहट र चट्याङ हुन सक्ने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका एक दुई स्थानमा राति भारी वर्षा हुने अनुमान गरिएको छ ।
काठमाण्डूमा पछिल्लो २४ घण्टामा ६४ मिलीमिटर वर्षा मापन गरिएको जानकारी महाशाखाले दिएको छ । सबैभन्दा धेरै वर्षा पोखरामा १२० मिलिमिटर, जनकपुरमा ७४ मिलिमिटर, वीरेन्द्रनगरमा ७३ मिलिमिटर पानी परेको छ ।