माधव नेपालको थुनछेक बहस जारी

काठमाण्डु टुडे २०८२ असार ११ गते १६:४७ मा प्रकाशित

काठमाण्डू, ११ असार– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको थुनछेक बहस जारी छ । विशेष अदालतमा केहि बेर अधि मात्रै अध्यक्ष नेपालको थुनछेक बहस सुरु भएको हो । आजै अदालत उपस्थित भएका नेपालको बयान सकिएलगत्तै केहीबेरबाट थुनछेक बहस थालिएको हो ।

वरिष्ठ अधिवक्ता सुशिल पन्तले बहस सुरु गरेका छन् । मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्यालसहित सरकारी वकिलको टोलीले बहस गर्नेछ । बहसकै लागि अख्तियारले पनि सहन्यायाधीवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको छ ।

अख्तियारभित्रै केही सरकारी वकिलहरूको दरबन्दी हुन्छ । सरकारी वकिल बाहेक वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको तर्फबाट वकालत गर्नेछन् । अख्तियारले विरलै रूपमा भ्रष्टाचार मुद्दामा बहसपैरवीका लागि स्वतन्त्र कानुन व्यवसायीहरूलाई ‘हायर’ गर्छ ।

हिमाल मिडियाका अध्यक्ष कनकमणि दिक्षित पक्राउ परेपछि अख्तियारले पूर्वमहान्यायाधीवक्ता डा। युवराज संग्रौला लगायतलाई यसैगरी हायर गरेको थियो । त्यसअघि सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियार र महान्यायाधिवक्ता बद्रीबहादुर कार्कीबीच नीतिगत विषयमा विवाद हुँदा पनि अख्तियारले कानुन व्यवसायीहरूलाई ‘वकालतनामा’ गराएको थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको तर्फबाट बहस गर्ने भनी करिव एक सय कानुन व्यवसायीहरूले वकालतनामा भरेका छन् । बहस गर्ने कानुन व्यवसायीहरूका लागि वकालतनामाको फारममा पूर्वप्रधानमन्त्री नेपालले हस्ताक्षर गरेर राखिदिएका थिए । वकालतनामाको सूची बनाई समन्वय गरिरहेका अधिवक्ता परिवर्तन राईका अनुसार अहिले पनि वकालतनामा भर्न कानुन व्यवसायीहरू आइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us