
काठमाण्डू, ११ असार– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग पछिल्लो समय साढे १६ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । गर्भनरको यो सम्पत्ति सुन र गाडीबाहेक हो ।
केन्द्रीय बैंक गभर्नर नियुक्त भएसँगै पौडेलले आफ्नो सम्पत्ति विवरण बुझाएका हुन् । उक्त विवरण अनुसार पौडेलसँग घरजग्गा, सुन, गाडी, सेयर लगानी र नगद रहेको छ । पौडलले गभर्नर नियुक्त हुदाँका बखत ६ बैंकको खाता चलाएका छन् । त्यसमा दुई वटा डलर खाता पनि छ । डलर खातामा भने कुल ४ हजार ५ सय १६ डलर छ ।
बाँकी खातामा गभर्नरको कुल बचत २६ लाख ८६ हजार रुपैयाँ रहेको छ । गभर्नर पौडेलको आफ्नै नाममा ३ वटा बैंक खाता छन् भने प्रतिभा शर्माको नाममा ३ वटा रहेका छन ।
बैंक खातामा भएको सबै नगदलाई आफैंले आर्जन गरेको विवरणमा उल्लेख गरीएको छ । गभर्नरले प्रतिभा शर्माको नाममा ललितपुरको सैँबु र नवलपरासी गैँडाकोटमा घरजग्गा रहेको विवरणमा उल्लेख गरेका छन् । त्यसैगरी उनी विभिन्न ६ कम्पनीको संस्थापक लगानीकर्ता छन् ।
गभर्नर पौडेल संस्थापक रहेका कम्पनीमा सानिमा बैंक, सानिमा मिडल तमोर, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चिवन इनर्जी हुन । ग्लोबेकोमा प्रतिभा शर्माका नाममा पनि लगानी गरेका छन् ।
त्यसैगरी उनले सनिमा माई हाइड्रोपावर संस्थापक सेयरलाई सर्वसाधारणमा रूपान्तरण गरिसकेका छन । पौडेलले सबै सम्पत्तिको स्रोत पैतृक र स्वआर्जन गरेको उल्लेख गरेका छन् ।
पौडेलसँग १५ लाख रुपैयाँ बराबरको हिरा छ । तर, उनले आफूसँग भएको ४५ तोला सुनको मूल्य भने उल्लेख गरेका छैनन् । त्यसैगरी उनीसँग सुजुकी कम्पनीको चार पाङ्ग्रे गाडी छ ।