विश्वभर एकै आवाजः ह्याप्पी बर्थडे मेस्सी

काठमाण्डु टुडे २०८२ असार १० गते १३:५५ मा प्रकाशित

काठमाण्डू, १० असार– आज अर्थात (जुन २४) विश्व फुटबलको इतिहासमा एक यस्तो दिन हो, जुन केवल एक व्यक्तिको जन्मदिन मात्र होइन, फुटबल युगको इतिहासमा एक युगको उत्सव हो । त्यो युग लियोनल आन्द्रेस मेसीको हो — एक यस्तो नाम, जसले मैदानमा बलको स्पर्शलाई कविता बनायो, जिन्दगीलाई प्रेरणाको पाठशाला र जितलाई नम्रताको प्रतिमूर्ति ।

आज उनी ३८ वर्षका भएका छन । तर उनको व्यक्तित्व, प्रभाव र उपस्थितिको आयाम समयको सीमाभन्दा पर पुगिसकेको छ । सन् १९८७ को यही दिन, अर्जेन्टिनाको रोसारियो शहरमा जन्मिएका फुटबलर मेसीले बाल्यकालमै विषम परिस्थितिको सामना गर्नुपर्‍यो । ग्रोथ हर्मोन डेफिसिएन्सी नामक रोगका कारण शारीरिक विकास अवरुद्ध हुँदै गर्दा पनि उनका सपना कहिल्यै रोकिएन ।

त्यो बालक मेसीले कल्पनामा पनि नसोचेको ऊँचाइमा पुग्ने कथा बार्सिलोनाले साकार बनायो । तिनै बार्सिलोनाका लागि उनले ७७८ खेलमा ६७२ गोल गरे, १० ला लिगा, ७ कोपा डेल रे, ४ च्याम्पियन्स लिग जित्न सफल भए लियोनल मेसी । तर आँकडाले मात्र मेसीको प्रभावलाई नाप्न सकिँदैन । उनले खेलेका क्षणहरू इतिहास होइन, भावनाका दस्तावेज समेत बनेका छन । जब उनले बल सम्हाल्छन्, मैदान शान्त हुन्छ, भीड मौन बन्छ। एउटा स–सानो चालमा पनि सिङ्गो कथा सुनिन्छ।

उनी मैदानमा कुनै साधारण स्ट्राइकर होइनन्, उनी त सर्जक हुन् फुटबलका पानामा जीवन भर्ने कवि । बार्सिलोनासँगको सम्बन्ध केवल खेल सम्झौतासँग जोडिएको थिएन । त्यो सम्बन्ध भावनाको थियो, जीवनको थियो । तर सन् २०२१ मा आर्थिक संकटका कारण क्लबले उनलाई सम्झौता नवीकरण गर्न नसक्दा जब उनले आँशु झार्दै विदा लिए, त्यस दिन सारा फुटबल संसार शोकाकुल हुन पुग्यो । त्यो दिनले देखियो मेसीको सम्बन्ध मैदानभन्दा परको थियो, त्यो त जीवनप्रतिको गहिरो सम्मान थियो ।

त्यसपछि उनले फ्रान्सको पेरिस सेन्ट जर्मेनमा दुई सिजन बिताए, उपाधि जिते, तर आत्मीयता गुमाए । २०२३ मा उनी अमेरिका पुगे, इन्टर मियामी क्लबमा सामेल भए । यो ट्रान्सफर केवल व्यवसायिक निर्णय थिएन, यो अमेरिकी फुटबल संस्कृतिमा क्रान्तिको आवाज थियो । आज मेसीको कारण एमएलएसमा टिकटको माग आकाशिएको छ, मियामीको सहरले फुटबलको भाषा बोल्न थालेको छ । तर मेसीको फुटबल जीवन एउटा प्रश्नले भने सधैं जसो सताइरहन्थौं, त्यो थियो, ‘देशका लागि तिमीले के जित्यौ ? मेसीका आलोचकहरुका लागि यो ठुलो प्रश्नको रुपमा स्थापित भएको थियो तर यसलाई पनि लियोनल मेसीले २०२२ को विश्वकप फुटबलबाट मौन बनाइदिन सफल भए ।

सन् २०२२ मा कतारमा भएको २२ औं संस्करणको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले हात पार्न सफल भयो । कप्तानका रूपमा उनले अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप दिलाए। फ्रान्सविरुद्धको फाइनल केवल खेल थिएन, त्यो मेसीको व्यक्तिगत पुनर्जन्म थियो । उसो त फ्रान्सलाई हराउँदै ट्रपी हात पार्न सफल भयो अर्जेन्टिना सफल भए मेसी ।

त्यो ट्रफीले नै मेसीलाई बनायो क्लबको राजा र देशको योद्धा । तर मेसीको प्रभाव खेलमै सीमित छैन । उनी सादा जीवनका प्रतिनिधि हुन् । न त उनले कहिल्यै स्वघोषित ठूलो बन्न खोजे, न त आलोचनामा बर्बराए । जसरी उनले आफ्नो सन्देश मैदानमार्फत दिए, त्यसरी नै उनले नम्रता, आत्मसंयम र पारिवारिक मूल्यमान्यतामा आफ्नो अस्तित्व गढे ।

उनी ‘सुपरस्टार’ भए पनि आम जीवनको अभिन्न बने। विश्वभर उनका समर्थकहरू छन् । उनका समर्थकहरुले विश्वभर नै विभिन्न कार्यक्रम गरेर जन्मदिन मनाइदै छ । दक्षिण अमेरिका होस् या एसिया, अफ्रिका होस् या युरोप — जुन भूगोलमा फुटबल पुग्छ, त्यहाँ मेसीको नाम श्रद्धाले लिइन्छ । आजको दिन, २४ जुन — विश्वभर ‘ह्याप्पी बर्थडे मेस्सी’ को आवाज गुन्जिएको छ।

ट्विटर, इन्स्टाग्राम, फेसबुकजस्ता सामाजिक सञ्जाल उनीकै नामले भरिएका छन्। नेतादेखि अभिनेता, वैज्ञानिकदेखि बालबालिकासम्मले उनलाई शुभकामना दिइरहेका छन्। यो केवल जन्मदिनको सन्देश होइन, यो त युगले युगलाई दिएको सम्मान हो । आज लियोनेल मेसीको जन्मोत्सव होइन, फुटबलको महायात्राको जयन्ती हो । र सारा विश्वले एकै स्वरमा गुञ्जायमान बनाइरहेको छ, “ह्याप्पी बर्थडे मेस्सी।”

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us