
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएका दाबी गरेका छन । राष्ट्रपति ट्रम्पले दुई देशबीचको युद्धविराम सहमतिले अन्ततः युद्धको अन्त्यतर्फ डोहोर्याउने विश्वास व्यक्त गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक स्टाटस लेख्दै दुई देश युद्धविराम गर्न सहमत भएको भन्दै ‘सबैलाई बधाई’ समेत दिएका छन । अमेरिकि राष्ट्रपति ट्रम्पले लेखेका छन, ‘इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविरामको सहमति भइसकेको छ, जुन १२ घन्टासम्म कायम रहनेछ, त्यसपछि यो युद्ध अन्त्य भएको घोषणा गरिनेछ ।’
ट्रम्पले करिब ६ घण्टापछि इजरायल र इरानले हाल जारी अन्तिम मिसनहरू सम्पन्न गरेसँगै युद्धविराम सुरू हुने स्पष्ट पारेका छन् । ट्रम्पका अनुसार औपचारिक रूपमा युद्धविरामको सुरुआत इरानले गर्नेछ र १२ औं घण्टामा इजरायलले युद्धविराम सुरु गर्नेछ ।
‘२४ औं घण्टामा भने ‘१२ दिने युद्ध’ को औपचारिक अन्त्य विश्वले सम्मानपूर्वक स्वीकार गर्नेछ,’ उनले लेखेका छन्, ‘युद्धविराम अवधिभर एक पक्ष शान्त र सम्मानजनक व्यवहारमा रहनेछ, जब अर्कोतर्फबाट युद्धविराम जारी हुनेछ ।’
ट्रम्पले सबै कुरा योजना अनुसार अघि बढ्ने विश्वासका व्यक्त गर्दै लेखेका छन्, ‘जुन निःसन्देह अघि बढ्नेछ । म दुवै देश इजरायल र इरानलाई यस्तो युद्ध अन्त्य गर्ने साहस, धैर्य र विवेकका लागि बधाई दिन चाहन्छु।’