नेपाली विद्यार्थी पनि अमेरिकाबाट डिपोट

काठमाण्डु टुडे २०८२ जेठ २६ गते १९:३५ मा प्रकाशित

काठमाण्डू, २६ जेठ–अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली मध्ये एक जना डाइभरसिटी भिसा (डीभी) र अर्का एक जना अध्ययनको लागि त्यहाँ गएका पुरुष रहेको खुलेको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गर्दा ती दुई जनाले लगभग १० वर्षदेखि अमेरिका बसोबास गरिरहेको पाइएको छ । यद्यपि उनीहरूले किन डिपोर्ट हुन पुगे भन्ने कारण भने खुलाएका छैनन् । प्रहरीले उनीहरू आपराधिक गतिविधिमा संलग्न रहेको अनुमान गरेको छ ।

ब्युरोका एसपी नरेन्द्र कुवँरका अनुसार अमेरिकाबाट आइतबार ३२ जना पुरुष र पाँच महिला गरी जम्मा ३७ जनालाई ओम्नी एयर इन्टरनेशनलको चार्टर विमानमार्फत नेपाल ल्याइएको थियो । उनीहरूमध्ये ३० जना र पाँच महिला अवैध रूपमा अमेरिका पुगेका हुन् । केही फर्किएका व्यक्तिहरू सन् २०२२ र २०२५ मार्चमा त्यहाँ पुगेका थिए ।

सन् २०२५ जनवरी २० मा डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ ग्रहण गरेपछि अमेरिकाले हालसम्म १७७ नेपालीलाई डिपोर्ट गरिसकेको छ । यसमा आइतबार फर्किएका ३७ जनाको संख्या पनि जोडिएको हो ।

उनीहरू अमेरिकी आव्रजन कानून उल्लंघन गरेको भन्दै देश फर्काइएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us