मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा

काठमाण्डु टुडे २०८२ जेठ २५ गते १०:५२ मा प्रकाशित

काठमाण्डू, २५ जेठ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्वपति व्यवसायी एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन । हिजो (शनिबार) एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले यस्तो घोषणा गरेका हुन । अन्तर्वार्तामा ट्रम्पलाई मस्कसँगको सम्बन्ध समाप्त भएको हो भन्ने प्रश्न गरियो, उनले भने, ‘म अनुमान गर्छु, हो ।’

जब उनलाई ‘के तपाईं बिग्रिएको सम्बन्ध सुधार्ने इच्छा राख्नुहुन्छ ?’ भनेर सोधियो, उनले संक्षिप्तमा भने, ‘अहँ।’ ट्रम्प र मस्कबिचको सम्बन्ध बिग्रिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक विवादपछि आएको हो । टेक व्यवसायी मस्कले ट्रम्पको निर्वाचन अभियानमा लाखौँ डलर दान गरेका थिए र ट्रम्पको विजय पश्चात उनी ह्वाइट हाउसको एक सल्लाहकारसमेत बनेका थिए ।

ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको मस्कले सार्वजनिक आलोचना गरेपछि उनीहरुबिचको विवाद चर्किएको हो । उक्त विधेयक ट्रम्पको प्रमुख घरेलु नीतिमा पर्छ । अधिकांश रिपब्लिकन नेताहरू राष्ट्रपति ट्रम्पको पक्षमा उभिएका छन्। उपराष्ट्रपति जेडी भान्सले मस्क ‘एकदमै जङ्गी शैलीमा’ उत्रिएको बताउँदै, अब मस्कलाई पार्टीमा स्वागत नगरिने बताएका छन् ।

पोडकास्टर थियो भोनसँग उनले भने, ‘ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ को आलोचना गर्नु मस्कको ठुलो गल्ती थियो।’केही सातादेखि मस्कले सो विधेयकको आलोचना गर्दै आएका थिए । मस्कको बिचारमा यो विधेयक पारित भएमा राष्ट्रिय घाटामा खरबौं डलर थपिनेछ र सरकारी खर्च कटौती गर्ने उद्देश्यले उनले नेतृत्व गरेको विभाग, डिपार्टमेन्ट अफ गर्भनमेन्ट एफिसिएन्सी (डज) को प्रयासलाई कमजोर पार्नेछ ।डजबाट १२९ दिनपछि बाहिरिएका मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा उक्त विधेयकलाई ‘घिनलाग्दो र विकृत’ भनेका थिए । तर त्यो बेला उनले ट्रम्पलाई प्रत्यक्षरूपमा आलोचना गरेका थिएनन् ।

बिहीबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘म मस्कको व्यवहारप्रति निराश छु ।’ त्यसपछि मस्कले एक्समा थुप्रै पोस्ट गर्दै आफू नहुँदो हो त ट्रम्पले चुनाव जित्न सक्दैन थिए समेत भने। साथै, ट्रम्पलाई यौन तस्करीको आरोपमा जेलमा नै रहेका बेला मरेका विवादास्पद व्यापारी जेफ्री एपस्टीनसँग जोडिएको आरोपसमेत उनले लगाए। पछि त्यो पोस्ट हटाइयो एपस्टीनका वकिलले पनि मस्कका आरोपहरू अस्वीकार गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us