चीनले दियो सार्कका लागि १० करोडका सामान

काठमाण्डु टुडे २०७१ भदौ २३ गते २:११ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– चीन सरकराले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनको सुरक्षाका लागि नेपाल प्रहरीलाई करिब १० करोड रुपैंयाँ बराबरको प्राविधिक सहयोग उपलब्ध गराएको छ ।
आगामी मंसिर १० र ११ गते काठमाण्डुमा आयोजना हुने सार्कको १८ औं शिखर सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै सरकारले चीनबाट स्क्यानर, मेटल डिटेक्टर, सीसीटीभी, सवारी साधनलगायत प्राविधिक उपकरण ल्याएको हो ।

ती सवारी तथा सञ्चार उपकरण अनुदानमा उपलब्ध भएका हुन् । सार्कमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान गरी आठ राष्ट्र छन् । चीन सार्कको पर्यवेक्षक राष्ट्र हो ।

प्रधान कार्यालय स्रोतका अनुसार पेट्रोलबाट चल्ने हाइस (माइक्रो) भ्यानलगायत १० वटा आरामदायी सवारीसाधन चीनबाट ल्याइएको छ । तत्कालिन अर्थमन्त्री वर्षमान पुनको कार्यकालमा चीनले सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

केही साताअघि गृह मन्त्रालयको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पंकज श्रेष्ठ नेतृत्वको टोलीलाई विद्युतीय उपकरणसहितको सहायता लिन चीन पठाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us