
काठमाण्डू, ८ जेठ- सुरक्षाफौजसँगको भिडन्तमा भारतीय कम्युनिष्ट पार्टी माओवादी (भाकपा) का शीर्ष नेता नंबाला केशव राव उर्फ बसवराजुको मृत्यु भएको छ ।
भारतीय गृहमन्त्री अमित शाहले ट्वीटमार्फत भाकपाका महासचिव बसवराजु सुरक्षा कारबाहीमा मारिएको बताएका छन् ।
छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमाबसवराजुसहित २७ माओवादी लडाकु मारिएको उनले उल्लेख गरेका छन् ।
त्यसलाई शाहले भारतबाट नक्सालवाद उन्मुलन गर्ने अभियानमा एक ऐतिहासिक उपलब्धीको संज्ञा दिए । नक्सलवादविरुद्ध तीन दशक लामो संघर्षमा पहिलोपटक महासचिव तहका नेता मार्न सफल भएको भन्दै शाहले सुरक्षा फौजको प्रशंसा गरे ।
बसवराजु भाकपाका प्रमुख नेताका साथै कुशल संगठक, प्रखर सिद्धान्तकर र सैन्य रणनीतिकार थिए । सुरक्षाकर्मीविरुद्धका ठूला कारबाहीहरुको योजना उनी आफैं बनाउँथे । उनको मृत्युले भाकपाले ठूलो धक्का व्यहोर्नुपरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
छत्तीसगठका नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लाको सीमामा अझै सुरक्षाकर्मी र माओवादी समूहबीच भिडन्त जारी छ । कारबारहीका लागि २८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नक्सालवादीविरुद्ध ब्ल्याक फरेस्ट नामको सैन्य कारबाही अघि बढाएपछि छत्तीसगढ, तेलंगाना र महाराष्ट्रमा ५४ जना नक्सली पक्राउ पर्नुका साथ ८४ जनाले आत्मसमर्पण गरेको दाबी शाहले गरे ।
भाकपा माओवादीले शान्ति वार्ताका लागि अपिल गर्दैै आएको अपिल भारत सरकारले अस्वीकार गरिरहेको छ । गृहमन्त्री शाहले माओवादीसँग वार्ता नगर्ने र सम्पूर्ण रुपले सैन्य कारबाहीबाट तह लगाउने बताउँदै आएका छन् ।