
काठमाण्डू, २३ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउप्रति खेद प्रकट गरेका छन् ।
आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चौधरीको पक्राउको घटनाको छानबिन गर्न र दोषीउपर कारबाही गर्न माग गरेका हुन । सांसद बस्नेतले गृहमन्त्रीले जवाफ दिने जानकारी पाएको उल्लेख गर्दै यस विषयमा धेरै नबोल्ने पनि बताएका छन । रेशमबारे कुरा राख्दाराख्दै उनले नेपालमा प्रतिशोधको राजनीति पाकिस्तानी मोडेलमा गइसकेको बताए ।
यसको दृष्टान्तको रुपमा उनले संसद्लाई सबैभन्दा कमजोर बनाउन खोजिएकोबाट थाहा लाग्ने उनले बताए । कांग्रेस सांसद बस्नेतले भने, ‘नेपाली कांग्रेसका नेता, २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमानजी कुनै बेला पार्टीबाट बाहिरिनपर्ने अवस्था थियो ।’
यस्तो अवस्था अन्य पार्टीमा पनि रहेको उनको भनाइ थियो । ‘एमालेभित्र संस्थापक नेता कति बाहिरिए कति बाहिरिए, माओवादी भित्र बाबुराम भट्टराई र बैद्यजी कहाँ हो कहाँ हो थाहा छैन,’ उनले भने ।राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका पनि समस्या नै रहेको उनको भनाइ थियो । उनले भने, ‘राप्रपाभित्र कमल थापाजी चुनाव हारेपछि अर्को पार्टी खोलेर अध्यक्ष भइहाल्नुभयो ।
पदको कुरा गर्दा । रास्वपामा पनि राजीनामा प्रकरण सुरु हुन थाल्यो,’ बस्नेतले भने । मधेश केन्द्रित राजनीतिक दलभित्र रहेको समस्या पनि देखिँदै गएको उनले बताए । यस्ता गतिविधिलाई उनले प्रतिशोधको संज्ञा समेत दिएका छन । उनले भने, ‘प्रतिशोध सबैभन्दा पहिले आफ्ना पार्टीकाले आफ्नालाई सिध्याउने, त्यसपछि अर्काका पार्टीलाई सिध्याउने ।’
यस्तो प्रतिशोधमा नफस्ने हो भने सक्रिय काम केही पनि गर्न नहुने उनको बुझाइ छ । चुप लागेर बस्ने, सबैको कुरा हो भनिदिए प्रतिशोधमा नफस्ने र तर, त्यस्तो व्यक्ति गतिलो नेता बन्न नसक्ने सांसद बस्नेतले बताएका छन ।’
गतिलो काम गर्न खोजे जो कोही पनि प्रतिशोधको सिकार हुन सक्छ,’ सांसद बस्नेतले भने । गतिलो काम गर्न खोज्ने कर्मचारीलाई मुद्दा लाग्ने प्रवृति बढेकोमा उनको आपत्ति थियो । सत्तापक्षलाई परे प्रतिपक्ष हाँसिदिने र प्रतिपक्षलाई परे सत्तापक्ष हाँसिदिने प्रवृत्तिले प्रतिशोधको राजनीतिलाई मलजल गरिरहेको उनको टिप्पणी छ ।
‘