कुलमानलाई सरकारले हटाउँदा प्रचण्डको मुटुमा गोली लागेको जस्तो गर्नुभयोः योगेश भट्टराई

काठमाण्डु टुडे २०८२ वैशाख २३ गते १६:५२ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– एमाले सचिव समेत रहेका प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा मुटुमा गोली लागेको जस्तो गरेको बताएका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै एमाले सांसद भट्टराईले यस्तो बताएका हुन । उनले पूर्वप्रधानमन्त्री प्रचण्डले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाएको विषयलाई माओवादीले किन उचालेको भन्दै प्रश्न समेत गरेका छन ।

उनले प्रचण्डलाई बहालवाला प्रधानसेनापति र मुख्यसचिवलाई आफैँले हटाएको भन्दै आफूले गरेको बेथितितिर फर्केर हेर्न आग्रह समेत गरेका छन । एमाले सांसद भट्टराईले भने,‘ प्रचण्डलाई भन्न चाहन्छु, तपाईँले त प्रधानसेनापति नै हटाउनुभएको थियो त। एकपटक सम्झिनुस् त तपाईँले कसरी हटाउनुभएको थियो प्रधानसेनापतिलाई ।

अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाएर हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोस्ट खडा गर्नुभयो र अर्को मुख्यसचिव ल्याउनुभयो तपाईँले। यस्ता काम त गर्नुभयो तपाईँले ।

अनि केपी ओली सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठुलो चिन्ता किन गरिरहनुभएको छ ? मुटुमै गोली लागेजस्तो किन भएको छ ? के भएको ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us