रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

काठमाण्डु टुडे २०८२ वैशाख २३ गते १५:३० मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभई छलकपटबाट फालिएको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राप्रपा सचेत शाहीले यस्तो बताएका हुन ।

उनले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु राम्रो नहुने तर्क गरेका छन । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने टिप्पणी गरे । प्रमुख सचेतक शाहीले भने ‘कसैको राजनीतिक आस्थामाथि ठाउँ ठाउँमा प्रश्न भएको छ । अघि यहाँ एक जना माननीयज्यूले भन्नुभयो । बाघ होइन भन्नुभयो ।

बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन ।’ उनले अहिलेका राजनीतिक दलहरूको जन्म विदेशमा भएको बताउँदै यसको प्रमाण राजदूत भइसकेका व्यक्तिको अभिव्यक्तिहरूबाट मिल्ने पनि बताएका छन । प्रमुख सचेतक शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरूले ल्याइदिएको पनि बताएका छन ।

उनले भने, ‘तपाईँहरूको यो क्रान्ति केके भन्नुहुन्छ, कहाँबाट आयो भन्ने कुरा त स्पष्ट थाहा छ नि । हरेकको जन्म त विदेशमै भएको हो नि त । चाहे १२ बुँदेको कुरा गर्नुस्, चाहे नेताहरू लुक्ने कुरा गर्नुस्, यो मैले भनेको होइन ।

पूर्वराजदूतहरूले बोलेका स्टेटमेण्ट हेर्नुस् न । स्वयं भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले संसद्मा बोलेको तपाईँहरूले राजा कसरी फाल्नुभयो, विदेशीको आडमा स्पष्ट भन्नुभएको छ ।

यो संविधान र व्यवस्था त उनीहरूले ल्याइदिएको हो नि त । त्यसैले राष्ट्रवादी भनेको राष्ट्रवादी हुन्छ, बाघ बुढो भए पनि बाघै हो । बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त ? त्यसैले यो देशको इतिहास हो राजसंस्था । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us