बेबीलोन बोर्डिङ स्कुलमा शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, मिलापत्र गर्न स्कुलले दबाब दिएको आरोप

काठमाण्डु टुडे २०८२ वैशाख २३ गते १४:५३ मा प्रकाशित

काठमाण्डू, २३ वैशाख– काठमाण्डू महानगरपालिका–३१ शान्तिनगरस्थित बेबीलोन बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षकमाथि आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

सांकेतिक नाम ‘बानेश्वर २६९६४० क’ लाई पटक–पटक बाल यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाको मौखिक जाहेरीका आधारमा नयाँ बानेश्वर प्रहरी वृत्तले ५४ वर्षीय टीकाप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएको छ । उनी विद्यालयको प्रशासनतर्फ परीक्षा विभागमा कार्यरत रहेको विद्यालयले जानकारी दिएको छ ।

विद्यालयका अनुसार मोरङको बेलबारी नगरपालिका घर भई काठमाण्डूको कागेश्वरी मनोहरामा बस्दै आएका सुवेदी सो विद्यालयमा करिब १२ वर्षदेखि कार्यरत रहेका थिए । सुवेदीविरुद्ध पीडितकी आमाले शनिबार किटानी जाहेरी दिएकी छन् । प्रहरीले आइतबार काठमाण्डू जिल्ला अदालतबाट म्याद थप गरेर सुवेदीलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

यौन बाल दुर्व्यवहारको कसुरमा सुवेदीलाई पक्राउ गरी पाँच दिनको म्याद थपेर प्रहरी वृत्त नयाँबानेश्वरले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिल बोहराले जानकारी दिएका छन । सुवेदीले २०८० चैत महिनामा ती किशोरीलाई पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । टिफिनको समयमा कक्षाबाट बाहिर निस्केको बेला सुवेदीले आफू एक्लै स्टाफ कोठामा बसी यता आऊ भनेर १४ वर्षीया ती किशोरीलाई बोलाउने गरेको किटानी जाहेरीमा उल्लेख छ ।

उनले स्टाफ कोठामा बोलाइ करणी गर्ने हिसाबले बालिकाका संवेदनशील अंगहरूमा छुनेरसमाउने र उनलाई पनि आफ्ना अंग छुने, समाउने गर्न लगाएको आरोप पीडितकी आमाको दाबी छ । पछिल्लो पटक २०८० चैत २१ गते दिउँसो ३ः३० बजे सुवेदीले सोही घटना दोहोर्‍याएपछि पीडित किशोरीले आमालाई सबै कुरा बताएकी थिइन् ।

त्यसपछि विद्यालयमा गुनासो गर्दा उल्टै मिलापत्र गर्न दबाब दिँदै छोरीलाई टर्मिनेट गर्दिने धम्की दिइएको पीडितकी आमाले जानकारी दिएकी छन । छोरीको पढाइको सवाल छ भनेर प्रभावित पार्ने र टर्मिनेट गर्दिन्छु भनेर स्कुलले दबाब दिई शुक्रबार मिलापत्र गर्न लगाएको उनले बताइन् । बेबीलोनका फाउन्डर तथा प्रिन्सिपल राजु राईसहितले मिलापत्र कागजमा हस्ताक्षर गर्न दबाब दिएको उनको भनाइ छ ।

‘पढाइको सवाल छ भनेर शुक्रबार मात्र धम्की दिई जबरजस्ती मिलापत्र गर्न लगाइएको थियो । प्रिन्सिपल र चेयरमेनसहित १०–१२ जना थिए । कानुन व्यवसायीहरू पनि आएका थिए,’ उनले भनिन् ।यद्यपि प्रिन्सिपल राईले भने विद्यालयले मिलापत्रका लागि दबाब दिएको सत्य नभएको दाबी गरेका छन् । ‘प्रहरीले बोलाएपछि कर्मचारीलाई जिम्मा लगाएर आएका हौँ ।

दुर्व्यवहारको घटनामा हामी गम्भीर हुन्छौँ भनेका छौँ, उनले भने, ‘उहाँ (पीडित) की आमाले उक्त घटनाबारे बताएपछि हामीले आन्तरिक छानबिन गर्छौँ, दुर्व्यवहारका विषयमा गम्भीर छौँ भनेका हौँ ।’ दुई वर्ष अघिदेखि पीडितकी आमा र ती कर्मचारीबिच विवाद रहेकाले सो आरोप लगाएको हुनसक्ने दाबी राईले गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us