
काठमाण्डू, २२ वैशाख– एमाले सांसद सूर्य थापाले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै आजै सरकार ढल्ने खालका वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण मात्रै बढ्ने काम गरेको बताएका छन ।
आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद थापाले यस्तो बताएका हुन । उनले देशमा दुई ठुला दल र अन्य पार्टीहरू मिलेर पालैपालो सरकार चलाउने सहमति गरेर नीति तथा कार्यक्रम ल्याइसकेपछि पनि सरकारविरुद्धका चलखेलहरू जारी रहेको बताएका हुन् ।
सांसद थापाले ‘सरकार आजै ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन’ जस्ता अभिव्यक्तिहरू आउने क्रम जारी रहेको र ती झुटा र बकवासहरू निरर्थक साबित भएको पनि बताएका छन । उनले भने, ‘आज देशमा सङ्ख्यात्मक हिसाबले बलियो सरकार छ । दुई वटा ठुला पार्टी र अन्य पार्टीहरू मिलेर पालैपालो सुरुमा २४ महिना र त्यसपछि बाँकी अवधि सरकारको नेतृत्व गर्ने घोषणाका साथ सरकार बनेर सहमतिमा काम अघि बढिरहेको छ, सरकारको नीति तथा कार्यक्रम पनि आइसकेको छ ।
तर त्यसयता दिनहुँ सरकारविरुद्धका चलखेल जारी छन् । आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन जस्ता वक्तव्यबाजीहरूले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदूषण हुने क्रम जारी छ ।
तर सरकार अघि बढिरहेको छ । त्यस्ता वक्तव्य र झुटो बकवासहरू निरर्थक साबित भएका छन् ।” सांसद थापाले दाहाल नेतृत्वको पछिल्लो २० महिनाको शासनका बेला पाकिस्तानी मोडलको अभ्यास र भ्रष्टाचारका फाइल खोल्ने हुङ्कारको हविगतलाई देखिएको र कुशासनका अनेक रूप प्रकट भएको समेत आरोप लगाएका छन ।